रूपन्देहीको सैनामैनामा मंगलबार राती एक युवकको हत्या गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
सैनामैना नगरपालिका २ स्थित बाबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा बुधबार एक पुरूषको शव फेला परेको थियो।
घटनास्थल र मृतकको अवस्था हेर्दा ढुंगाले हानेर हत्या गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।
बिहीबारसम्म मृतकको पहिचान नखुलेको भए पनि प्रहरीले घटनामा संंलग्न भएको आशंंकामा तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा अर्घाखाँचीको सिमलपानीका २७ वर्षीय ध्रुब बिसी, रूपन्देहीको सैनामैना २ कालिका चोकका १८ वर्षीय शिशिर थारू र नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ९ का २५ वर्षीय सन्दीप भनिने शेरबहादुर बोहोरा छन्।
पक्राउ परेकाहरूले अघिल्लो दिन साँँझ सँँगै बसेर मादक पदार्थ सेवन गरेको र अन्य गतिविधीहरूको अध्ययन गर्दा हत्यामा संलग्न भएको पुष्टि हुन सक्ने आधार फेला परेकोले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
बुधबार बेवारिसे अवस्थामा मृत फेला परेका अन्दाजी ४० वर्षीय ती पुरूषको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत रूपन्देहीले ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।